शुक्रबार, बैशाख २१, २०८१

तिहारको विधिवत समापनसंगै छठ पर्वको चहलपहल सुरु

 काठमाडौं कात्तिक ३०,
वर्ष २०८० को तिहार पर्व बुधवार विधिवत समापनभएसंगै बजारमा छठ पर्वको रौनक एवम् चहलपहल सुरु भएको छ । पर्वका लागि राजधानीको विभिन्न क्षेत्रमा रहेको खोला क्षेत्रमा भव्य रुपमा छठ पर्व मनाउनका लागि सरसफाइका कार्य शुरु भएको छ ।

छठपर्व विधिवत् रुपमा शुक्रवारदेखि शुरु हुँदैछ । तिथि घटबढ कारण भाइटीका लगत्तै छठपर्व शुरु भएको हो । नियम निष्ठाका साथ मनाइने गरिएको यस पर्वको पहिलो दिन शुक्रवार वर्तालुहरुले आत्मशुद्धि गर्छन् । लसुन र प्याज पनि नखाने, अरुवाअरुवाइन अर्थात् शुद्ध भोजन गर्ने गर्छन् । यसलाई ‘नहायखाय’ भनिन्छ ।

त्यस्तै पर्वको दोस्रो दिन दिनभर उपवासमा बसेर बेलकीको समयमा नयाँ माटोको चुलोमा पूजाका लागि खीर पकाउने गर्छ । सोही खीर घरको देवीदेउतालाई अर्पण गरेपछि परिवारका सदस्यबीच प्रसादका रुपमा वितरण गरी वर्तालुले आफुले पनि  प्रसादकै रुपमा ग्रहण गर्ने गरिन्छ ।

पर्वको तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य र वर्तको चौंथो दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै पर्वको विधिवत् समापन गरिन्छ ।