बिहिबार, बैशाख २०, २०८१

आज साँझ धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना सहित लक्ष्मीपूजा मनाइदैं

ॐ ह्रीं श्री क्रीं क्लीं श्री लक्ष्मी मम गृहे धन पूरये,धन पूरये, चिंताएं दूरये-दूरये स्वाहा: 

काठमाडौं कार्तिक २६,
यमपञ्चक अन्र्तगत आज बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा गरी मनाइँदैछ । तिथि घटबढका कारण आज एकै दिन नरकचतुर्दशी, कुकुर तिहार, लक्ष्मीपूजा परेकाले बिहान कुकुर तिहार र साँझ साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाउन लागिएको हो ।

देवी लक्ष्मीको पूजाआराधनाका लागि सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यता सहित आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गर्दै घर वरिपरि सरसफाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारी लक्ष्मी पूजा गरेमा लक्ष्मी खुसी र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास रहिआएको छ । त्यसैकारण आजको साँझ घरघरमा दीपमालिकासहित दीपावली मनाइदै छ ।  यसवीचमा तिथि घटबढका कारण कसैले आजै त कसैले सोमवार पनि लक्ष्मी पूजा मनाइने तयारी गरेको पाइन्छ ।

त्यस्तै दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गर्ने परम्परागत विधिविधान रहिआएको छ।

यसअघि घरमा लक्ष्मी प्रवेश गरून् भनी आँगन वा चोकदेखि ढुकुटीसम्म लक्ष्मीको पाइला अङ्कित गरि लक्ष्मी पूजा गरिसकेपछि मध्यरातमा महिलाले आँगनबाट भित्रसम्म दुःख, दरिद्र हटी सुखशान्ति भित्रियोस्, लक्ष्मी स्थिर भइरहून् भन्ने उद्देश्यले नाङ्लो ठटाउँदै प्रवेश गर्ने शास्त्रीय तथा धार्मिक मान्यता पनि रहेको पाइन्छ ।आजको रात्रिलाई सुखरात्रि भनिन्छ । लक्ष्मी पूजा गरिसकेपछि आजैदेखि दैउसी, भैलो खेल्ने परम्परा रहेको छ । विधिअनुसार लक्ष्मी पूजा गरिसकेपछि श्रीसुक्त पाठ गरिन्छ, लक्ष्मीलाई नरिवल प्रिय लाग्ने भएकाले लक्ष्मी पूजामा जटानरिवल विशेष रुपमा चढाइन्छ, यसबाट श्रीऐश्वर्य प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ

  आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मीपूजाका अवसरमा आज सहरबजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कूल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । शास्त्रीयरूपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाईपूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् गौतमले जानकारी गराए ।

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार अन्र्तगत यस वर्ष तेस्रो दिन सोमवारगाई तिहार, चौथो दिन गोवर्द्धन पूजा र अन्तिम दिन भाइटीका मनाइने भएको छ।