सोमवार, जेष्ठ ७, २०८१

किर्ते कागजात बनाएर जग्गा बिक्री गर्ने भारतीय नागरिक अनुप मेहराविरुद्ध मुद्दा दर्ता

  काठमाडौं कात्तिक २३,

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल सरकारको स्वामित्वमा आउनुपर्ने जग्गा कीर्ते कागजात बनाएर नक्कली जग्गाधनी खडा गरी ५ करोड रूपैयाँ बी लागतमा बिक्री गरेको अभियोगमा भारतीय नागरिकविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। भरतीय नागरिक अनुप मेहरा जग्गा बिक्रीकर्ता रहेको अनुसन्धानबाट खुलेपछि निज विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

विशेष अदालत काठमाडौंमा विचाराधीन मुद्दामा मेहरा फरार थिए। गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री वितरण गरी भ्रष्टाचार गरेको मुद्दामा जग्गा बिक्रीकर्ता मेहरा रहेको आयोगको छानबिनबाट देखिएको थियो।

भारतीय नागरिक मेहराले हदबन्दीबाट नेपाल सरकारको नाममा आउनुपर्ने जग्गाहरू भूमिसुधार कार्यालय नवलपरासीका तत्कालीन भूमिसुधार अधिकारीलाई प्रलोभनमा पारी मिलेमतो गरी गलत कागजातका आधारमा कानुनविपरीत तीन परिवार संख्या कायम गरी गैरकानुनी निर्णय गर्न लगाएका थिए।   मेहरालाई सहयोग गर्ने नवलपरासीस्थित मालपोत कार्यालयका तत्कालीन मालपोत अधिकृतविरूद्धसमेत यसअघि नै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

 जग्गा बिक्री गर्ने कसुरमा संलग्न भारतीय नागरिक मेहरालाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा १ ९ज० र सोही ऐनका दफा १७, दफा ९ र दफा १२ बमोजिमको कसुरको सम्पत्ति लिने-खाने प्रकारको मतियारका रूपमा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।

यसअघि मुद्दा दर्ता गरिएका मालपोत र भूमिसुधार कार्यालयका कर्मचारीलाई गरिएको सजायसरह भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिमको कसुरमा सजाय मागदाबी गरिएको छ।