सोमवार, जेष्ठ ७, २०८१

भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३, घाइतेका सख्या १६६ पुग्यो

बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुने गरी १ करोड र एनआरएनएले १० लाख सहयोग गर्ने

काठमाडौं कार्तिक १८,
शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६।४ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको संख्या १४३ पुगेको छ । नेपाल प्रहरीका अनुसार पछिल्लो समय जाजरकोटमा १०५ जना र रूकुम पश्चिममा ३८ जनाको मृत्यु भएको डेटा रहेको जनाएको छ । त्यस्तै घाइतेको संख्या १६६ छ । जसमध्ये जाजरकोटमा ८१ र रूकुम पश्चिममा ८५ रहेको बुझिएको छ ।

यसेवीच बुद्ध एयरले जाजरकोट क्षेत्रका भूकम्प प्रभावित भूभागमा राहतका लागि एक करोड रूपैयाँ सहयोगको घोषणा गरेको छ। प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुने गरी १ करोड रूपैयाँ सहयोग दिने निर्णय गरेको बुद्ध एयरले जनाएको छ ।

‘जाजरकोट र पश्चिम रूकुममा भएको प्राकृतिक विपतमा परी त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन् । भूकम्पले थुप्रै परिवार घरबारविहीन भएका छन् । यस दुखद् परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्छ । हामी बुद्ध एयर परिवारको तर्फबाट उद्धार र राहत सामग्री ढुवानी सहयोगका लागि पनि वचनबद्ध रहेको बुद्ध एयरले जनाएको छ ।

त्यस्तै भूकम्पमा परी घाइते भएकाहरूको सहयोगका लागि गैरआवासीय नेपाली सङ्घले १० लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेको छ । शनिबार सङ्घका अध्यक्ष बद्री केसी र महासचिव गौरीराज जोशीको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमार्फत सहयोग घोषणा गरेको हो ।