सोमवार, जेष्ठ ७, २०८१

काठमाडौं मेट्रो आइडिया एन्ड इनोभेसन’ मा सोच प्रदर्शनी हुँदै

काठमाडौ असोज २८,

काठमाडौ महानगरपालिका सहरी योजना आयोगले ‘काठमाडौं मेट्रो आइडिया एन्ड इनोभेसन’ को सोच प्रदर्शनी आयोजना गर्ने भएको छ । यसका लागि पहिलो चरणबाट विजेता बनेका शीर्ष ५० सोचका टोली नेताहरूलाई आगामी कार्यक्रमका बारेमा अभिमुखीकरण गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीले आर्थिक विकासका लागि महानगरपालिकाको सहजीकरण योजनाका विषयमा जानकारी गराउँदै, सोच र लगानीको भेट गराउने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

यसबाट लगानीकर्ताले नयाँ योजना पाउनेछन् । नविन सोचलाई उद्यमका रुपमा विकास गर्न नसकेका युवाहरुले लगानीकर्ता पाउनेछन् । राजभण्डारीले भन्नुभयो, ‘यसबाट युवा र रोजगारीको क्षेत्रबाट आर्थिक विकासमा टेवा पुग्नेछ ।’ कार्यक्रममा योङ् इनोभेसनका अध्यक्ष विभुषण विष्टले सोचलाई आर्थिक उपार्जनमा प्रयोग गर्न सकिने प्रशस्त ठाउँ रहेको बताउनुभयो ।

असोज ३० गते राष्ट्रिय सभा गृहमा नविन सोचको बजारीकरण सम्बन्धी प्रदर्शनी हुनेछ । त्यसपछि सोचलाई लगानीका लागि थप परिपक्व बनाउन तालिम दिइनेछ । आयोगकी सहायक विज्ञ अग्मा मालाकारले भन्नुभयो, ‘अन्तिम चरणमा टेलिभिजन शो गरिनेछ ।’

सोच र लगानीकर्ताकावीच तत्काल सम्पर्क [फास्ट ट्र्याकमा] गराउँछ । यसमा सहभागीलाई हरेक विशेषज्ञसँग अन्तरक्रियात्मक कुराकानी गराइन्छ । यसरी अन्तरक्रिया गराउनु ‘स्पीड डेटिङ्’ विधि हो । यो ज्ञान बाँडफाँड र साझेदारी गठनका लागि प्रभावकारी र गतिशील मानिन्छ ।

आइडिया बैङ्क नविनतम सोचलाई लगानीसँग जोड्ने ठाउँ हो । नवप्रर्वतक, उद्यमी व्यवसायीको सिप तथा ज्ञान अभिबृद्धि गर्दै लगानीकर्तासँग जोडिन्छ । नविनतम सोचलाई उद्यमशील क्षेत्रका रुपमा विकास गर्न विकास कार्यमा सहयोग गर्ने, विकसित सोचलाई लगानीकर्तासँग जोडेर वेरोगजारीसँग सम्बन्धित समस्या कम गराउने यसको लक्ष्य रहेको  छ ।