सोमवार, जेष्ठ ७, २०८१

३ करोड १२ लाखको माग दावी सहित प्रशासकीय अधिकृत विष्टसहित सात जनाविरुद्ध मुद्धा दायर

काठमाडौं साउन ११,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकामा सडक निर्माणको क्रममा अनियमितता गरेको अभियोगमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टसहित सात जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालले जारी विज्ञप्तिमा दार्चुलाको शैल्यशिखर नगरपालिकामा सडक निर्माणमा अनियमितता गरेको भन्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्ट, शैल्यशिखर नगरपालिकाका इन्जिनियर सन्तोष पाण्डेय,तत्कालीन इन्जिनियर राजेन्द्रसिंह धामी, सब९इन्जिनियर दीपकसिंह विष्ट, उपभोक्ता समितिका अध्यक्ष जनकराज जोशी, , सचिव धनन्जय जोशी तथा कोषाध्यक्ष जानकी बडू जोशीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।  मुद्दा दायर भएका यी सातजनाबाट अख्तियारले जरिवाना र बिगो गरी ३ करोड १२ लाख ३० हजार ६७० रुपैयाँ जरिवाना र कैद माग दाबी गरेको छ ।

त्यस्तै अख्तियारले दार्चुलाको शैल्यशिखर नगरपालिका ६, पनेबाज मौरीभिटादेखि वडा नम्बर ७ र ८ को बन्तोली बोहरीगाउँको सडकखण्ड निर्माणको लागत इस्टिमेट भन्दा कडा चट्टानको भाग बढी देखाएर वास्तविकभन्दा बढी भुक्तानी दिएको भन्ने उजुरीको अनुसन्धानको क्रममा उजुरी अनुरुपको कैफियत देखिएसंगै निजहरुविरुद्ध मुद्धा दायर गरिएको उल्लेख गरिएको छ ।

आयोगले दायर गरेको मुद्धामा निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टलाई २६ लाख दुई हजार ५५६ रुपैयाँ ११ पैसा र बिगो कायम गरी मुद्दा दर्ता गराएको छ । यसैगरी इन्जिनियर सन्तोष पाण्डेयलाइ ११ लाख ३० हजार २७२ रुपैयाँ ५७ पैसा नै बिगो कायम गरी कैद र जरिवाना माग दाबी गरेको छ भने तत्कालीन इन्जिनियर राजेन्द्रसिंह धामीलाइ १४ लाख ७२ हजार २८३ रुपैयाँ बिगो जरिवाना र कैदको माग दाबी गरिएको छ । त्यस्तै सबइन्जिनियर दीपकसिंह विष्टलाई २६ लाख २ हजार ५५६ रुपैयाँ ११ पैसा भ्रष्टाचार गरेको र सोहीबमोजिम बिगो जरिवाना तथा कैदको माग गरिएकोछ भनेउपभोक्ता समिति अध्यक्ष जनकराज जोशी, सचिव धनञ्जय जोशी तथा कोषाध्यक्ष जानकी बडू जोशीले २६ लाख २ हजार ५५६ रुपैयाँ ११ पैसा भ्रष्टाचार गरेको र सोहीबमोजिम बिगो जरिवाना तथा कैदको माग गरेको छ ।