आइतवार, जेष्ठ ६, २०८१

हेमबहादुर मल्ल सम्मान पूर्वप्रशासकद्वय प्रधान र आचार्यलाई

काठमाडौं साउन २
जन प्रशासन संघ [पान] र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा संयुक्त रुपमा प्रदान गरिने वर्ष ०७७/०७८ को हेमबहादुर मल्ल सम्मानबाट क्रमश गोरक्ष बहादुर न्हुछे प्रधान र भानुप्रसाद आचार्यलाई प्रदान गरिने भएको छ ।

पूर्व सचिव दीपेन्द्र पुरुष ढकालको संयोजकत्वमा गठित मुल्यांकन समितिले जनप्रशासनको क्षेत्रमा उल्लेख्य योगदान पुर्याए बापत सम्मानका लागि प्रशासकद्वयलाइ छनौट गरेको हो । सम्मानको क्रममा उहाँँरुलाइ उपराष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यतामा आयोजना हुने औपचारिक कार्यक्रम मार्फत बुधवार सम्मानपत्रसहित नगद २ लाख प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

त्यस्तै सम्मान् घोषणा सभामा वोल्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले हेम बहादुर मल्लको पदचापलाई नेपालको प्रशासनिक एवम् समग्र व्यवस्थापन क्षेत्रले सिको गर्न सकेको खण्डमा सुशासन र विकास कार्यमा टेवा मिल्ने आशय व्यक्त गर्दै कर्पोरेशनले सदैव जनउत्तरदायी भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

यस अघि हेमबहादुर मल्ल सम्मानबाट केदार भक्त माथेमा, चादनी जोशी, भगवान कोईराला, डा।विमल कोइराला, महावीर पुन,अम्बिका श्रेष्ठ,भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा। सुरेश राज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदार रेग्मी, देवेन्द्र राज पाण्डे, कुलमान घिसिङ, डा.सुन्दुक रूइत, डा। गौरी शंकरलाल दास, सुर्यनाथ उपाध्याय सम्मानित भैंसक्नुभएको छ।

सम्मान घोषणा सभामा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष प्रदिपलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।