शनिबार, बैशाख २२, २०८१

नागरिकता विधेयक अनुमोदन गर्न प्रम प्रचण्डको आग्रहपछि राष्ट्रपति पौडेलले कानुनविदसंग परामर्श गर्दै

काठमाडौँ बैशाख २४,

अघिल्लो संसदबाट पारित भई राष्ट्रपति कार्यालयमा पुगेर थन्किएको बहुचर्चित नागरिकता विधेयक अघि बढाउनेबारे राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डवीच आज राष्ट्रपति निवासमा विशेष छलफल भएको छ ।

शनिबार बसेको सत्ता गठबन्धनका शिर्ष नेतृत्वको बैठकले कानुनविद एवं नेपाल बारका पदाधिकारीसंगै प्रस्तुत नागरिकता विधेयकबारे सुझाव लिएसंगै आज राष्ट्रपतिसंगको छलफलको क्रममा प्रम प्रचण्डले अघिल्लो संसदबाट पारित भई राष्ट्रपति कार्यालयमा ‘पेन्डिङ’मा रहेको नागरिकता सम्बन्धी विधेयक अनुमोदन गर्न आग्रह गरेका हुन् ।

 प्रधानमन्त्री प्रचण्डको आग्रह पछि राष्ट्रपति पौडेलले आजै नागरिकता विधेयकबारे छलफल गर्नका लागि सम्वद्ध कानुनविदहरुलाई राष्ट्रपति निवासमा बोलाएको थाहा भएको छ ।

 अघिल्लो सरकारका पालामा दुवै सदनबाट पास भएको नागरिकता विधेयक शीतलनिवास पठाइए पनि तर तत्कालीन राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगरेपछि रोकिएको थियो । यसवीचमा प्रमाणीकरण हुन नसकेपछि रोकिएको नागरिकता विधेयकको अवस्था के हुन्छ भनेर राष्ट्रपति पौडेलले परामर्श गर्न कानुनविदहरुलाई राष्ट्रपति निवासमा आमन्त्रण गरेको राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जानकारी दिएका छन् ।