आइतवार, बैशाख २३, २०८१

राष्ट्रपतिद्वारा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन सहित इन्द्रजात्रा अवलोकन

काठमाडौं भाद्र २४ ,
राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीको राष्ट्रिय पर्व इन्द्रजात्राको अवसरमा वसन्तपुर दरबार क्षेत्रमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको दर्शन संगै वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गर्नुभएको छ।

आज इन्द्रजात्राको मुख्य दिन हो । आज स्थानीय भाषामा कोने भनिने तल्लोटोलमा रथयात्रा चलाइएको थियो । त्यस अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्री ,सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत मन्त्रिगण, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधिलगायत सहभागी हुनुभएको थियो ।

जात्रा अवलोकनका लागि बसन्तपुर क्षेत्रमा ठूलो सङ्ख्यामा स्थानीयवासी र सर्वसाधरणको घुइँचो लागेको थियो ।

यसैवीच दोस्रो दिन थने अर्थात माथिल्लो टोलमा रथायात्रा चलाइने परम्परा रहिआएको छ भने जात्राको चारौ दिन नानीचा जात्रा चलाइने परम्परा रहिआएको छ । यस दिन राष्ट्रपति भण्डारी हनुमानढोका दरबार गई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुहुनेछ । टीका र प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा रहिआएको छ ।