शुक्रबार, बैशाख २१, २०८१

ह्वात्तै बढ्यो कोभिड संक्रमित, वितेको २४ घण्टामा ४ सय ५७ जनामा संक्रमण, १ को मृत्यु

काठमाडौं साउन २ ,
नेपालमा पछिल्लो समय कोभिड संक्रमितको सख्या दिनानुदिन बढ्दो रहेको छ । वितेको पछिल्लो २४ घण्टामा दुई हजार ३४१ जनाको पीसीआर गर्दा ३८६ जनामा र २ हजार ३१० जनाको एन्टिजेन परीक्षण गर्दा ७१ जना गरि ४ सय ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले आज पुष्टि भएका संक्रमितसंगै कोभिड सक्रिय संक्रमितको संख्या १ हजार ७ सय ७६ पुगेको जनाएको छ भने यसमध्ये सबैभन्दा बढी १६३ जना काठमाडौंमा रहेका छन् । त्यसैगरी, भक्तपुरमा १० र ललितपुरमा ४५ जना नयाँ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

साथै यसवीचमा ४८ जना संक्रमणमुक्त भएको जनाएको छ। त्यस्तै संक्रमणका कारण थप एक जनाको मृत्यु भएसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको ११ हजार ९ सय ५४ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्ते कोभिड संक्रमित मध्ये १५ जनाको आइसियूमा र एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।