शनिबार, बैशाख २२, २०८१

उपत्यकामा फोटोसहितको मतदाता नामावली अब अनलाइनबाटै

काठमाडौं असार २८,

निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता नगराएका नेपाली नागरिकले अब अनलाइन प्रविधिबाटै मतदाता नामावली दर्ता गराउन सक्ने जनाएको छ। आयोगले आज जारी विज्ञप्ति मार्फत फोटोसहितको मतदाता नामावली सङ्कलनको कार्यलाई सरलीकरण गर्दै बिहीबारदेखि अनलाइनबाट फाराम भरी मतदाता नामावली दर्ता गर्न सक्ने जानकारी दिएको हो ।

त्यस्तै आयोगले तत्कालका लागि यो व्यवस्था काठमाडौं, भक्तपुर र ललितपुरबाट सुरु हुने जनाउँदै आयोगले मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नागरिकले यस अनलाइन सेवाको उपयोग गरी आफ्नो मताधिकार सुनिश्चित गर्नु र गराउनु अनुरोध समेत गरेको छ ।

फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगराएका नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा निर्वाचन आयोग, नेपालको वेबसाइट www.election.gov.np मा गई व्यक्तिगत विवरण भरी सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा गई अनलाइनबाटै पेश गर्न सकिने त्यसपछि अनलाइन फाराममा उल्लिखित सङ्केत नम्बरसहितको प्रिन्ट कपी र आवश्यक अन्य प्रमाण कागजात लिएर फोटो खिच्न र औंठा छाप दिन सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क राख्नु पर्ने आयोगले जनाएको छ ।