सोमवार, जेष्ठ ७, २०८१

मानव तस्कर सहितको ठगी प्रकरणविरुद्ध राप्रपा र नेकपा एसले आज विरोध सभाको आयोजना गर्दै

 काठमाडौं जेठ ४,
नक्कली भुटानी शरणार्थी प्रकरणविरुद्ध आज दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टीले संघीय राजधानीको बसन्तपुरमा विरोध सभाको आयोजना गर्दै  छ  । विरोध सभालाई पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।

यस्तै, सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले आजै दिउँसो ३ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भएको छ । विरोधसभालाइ पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको एकीकृत समाजवादी पार्टीले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै भएको मानव तस्कर सहितको ठगी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृह सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १४ जना पक्राउ परिसकेका छन्।

यसअघि प्रस्तुत प्रकरण र भ्रष्टाचारविरुद्ध विभिन्न विद्यार्थी संगठन, राजनैतिक दलका भातृ संगठन र नागरिक अगुवासहितको टोलीले पनि माइतीघरमा प्रदर्शन गरिसकेका छन ।