आइतवार, जेष्ठ ६, २०८१

यस्तो छ मन्त्रिपरिषद् बैठकका १० बुँदे निर्णय

काठमाडौं  चैत १८, 
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको विभिन्न मन्त्रालयको प्रस्तावमा भएको १० बुँदे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा गर्नुहुने भारत भ्रमणमा सहभागी हुने प्रतिनिधिमण्डलको गठन गर्ने तथा भ्रमण स्वीकृत गर्ने निर्णय जानकारी दिनुभएको छ।

त्यस्तै सरकारका प्रवक्ता कार्कीले बैठकले अरुण–३ जलविद्युत परियोजनाको पहुँच मार्ग अन्तर्गत छ्याङकुटी–दिदिङ खण्डको जग्गाको छुट मुआब्जा वितरण गर्ने गराउने, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषको संयुक्त वसन्तकालीन बैठकमा नेपालको सहभागिताका लागि अर्थ मन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने, आयोजनाको बहुवर्षीय ठेक्कासम्बन्धी [दोस्रो संशोधन] मापदण्ड, २०७८ स्वीकृत गर्ने र नेपाल–कम्बोडिया टिफा काउन्सिलको प्रथम बैठक भर्चुअल माध्यमबाट आयोजना गर्न स्वीकृत दिने निर्णय भएको  जानकारी  दिनुभयो ।

त्यस्तै नेपाल प्ररहीको रिक्त ३ अतिरिक्त महानिरीक्षकको पदमा वसन्तबहादुर पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई बढुवा गर्ने गरी रिक्त पदमा पदस्थापन गर्ने निर्णय संगै गोरखापत्र संस्थानको रिक्त महाप्रबन्धक पदमा लालबहादुर ऐरी र न्यूनमत पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा सङ्गीता खड्कालाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिनुभयो । साथै राष्ट्रिय भूमि आयोग गठन आदेश २०७८ को दफा ८ को उपदफा १ को खण्ड क बमोजिमसरकारले आयोगका ४३ जिल्ला अध्यक्ष नियुक्त गर्ने निर्णय र उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचलाई व्यवस्थित गर्ने सम्बन्धी पहिलो संशोधन  कार्यविधि, २०७८ स्वीकृत भएको जानकारी दिनुभयो ।