सोमवार, जेष्ठ ७, २०८१

सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

भिजिट भिसामा विदेश जाने नेपालीलाई विमानस्थलमा दिइने सास्ती  कार्य तत्काल बन्द गर्न समेत निर्देशन  

काठमाडौं माघ ३,
प्रधानमन्त्री प्रचण्डले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिनुभएको छ । बुधबार बिहान बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले उक्त निर्देशन दिनुभएको हो ।  प्रधानमन्त्रीले सहकारीलाई समाजवादको भ्रूण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्नेगरी ऐनमा नै व्यवस्था हुनुपर्ने बताउँदै दीर्घकालीन र तत्कालिन उपाय अपनाएर सहकारीहरुलाई व्यवस्थित बनाउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीले सहकारीको समस्या समाधानका सम्बन्धमा तत्कालीन र दीर्घकालीन ढङ्गले आवश्यक गृहकार्य गर्न सरोकार मन्त्रालय र निकायलाई निर्देशनसमेत दिनुभएको छ । उहाँले सहकारीको अनुगमनका लागि प्रभावकारी नियामक निकाय बनाउनुपर्ने विषयमा आफ्नो ध्यान गएको भन्दै सहकारीसम्बन्धी हाल कार्यरत नियामक संस्थाहरुलाई राम्रा, सङ्कटमा रहेका र डुबेका सहकारीहरुको वर्गीकरण गरी प्रतिवेदन पेश गर्न निर्देशन दिनुभयो ।

 यसैवीच प्रधानमन्त्रीले भिजिट भिसा र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती दिइने गरेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न समेत निर्देशन दिनुभएको छ।

निर्देशन दिने क्रममा प्रम प्रचण्ड भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काउने र फेरि केही दिनपछि सेटिङ मिलाएर पठाउने गरेको गुनासो मैले सुनेको छु, भिजिट भिसामा घुम्न जानेहरूका सम्बन्धमा अध्यागमन कार्यविधिअनुसार गर्नु, गराउनु होला । जनतालाई हैरानी दिने काम बन्द गर्नुहोला भन्दै वैदेशिक रोजगारी र भिजिट भिसाबारे सचेतनामूलक कार्यक्रम गर्न र राष्ट्र र जनताको हितमा काम गर्नसमेत सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभएको हो।