आइतवार, जेष्ठ ६, २०८१

सातै प्रदेशमा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता[ विस्तृत विवरण सहित]

काठमाडौं पुस २३ ,
निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आज विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको जनाएको   छ ।

समग्रमा सातै प्रदेशमा महिला समूहतर्फ १८ , दलित समूहतर्फ ५, अपाङ्‍गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदाय तर्फ ८, र अन्य समूहतर्फ २१, गरी जम्मा ५२ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको जनाएको छ ।

उम्मेदवारी दर्ताको क्रममा कोशी प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ भने मधेश प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ।

त्यस्तै बागमती प्रदेशमा महिला समूहका लागि ४ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपाङ्‍गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि ४ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ४ राजनीतिक दलका तर्फबाट जम्मा १५ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

यस्तोछ उम्मेदवारी दर्ताको विस्तृत विवरण :

गण्डकी प्रदेशमा महिला समूहका लागि ३ राजनीतिक दलका तर्फबाट, अपाङ्‍गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ३ राजनीतिक दलका तर्फबाट जम्मा ८ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ।

उम्मेदवारी दर्ताको क्रममा लुम्बिनी प्रदेशमा महिला समूहका लागि ३ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि ४ राजनीतिक दलका तर्फबाट जम्मा ७ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ भने कर्णाली प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट, दलित समूहका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि २ राजनीतिक दलका तर्फबाट जम्मा ६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

त्यसैगरि सुदूरपश्‍चिम प्रदेशमा महिला समूहका लागि २ राजनीतिक दलका तर्फबाट, अपाङ्‍गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायका लागि २ राजनीतिक दलका तर्फबाट र अन्य समूहका लागि २ राजनीतिक दलका तर्फबाट जम्मा ६ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।
त्यस्तै आयोगले स्वीकृत निर्वाचन कार्यक्रम अनुसार पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २५ र २६ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण हुने जनाएको छ।