सोमवार, जेष्ठ ७, २०८१

बढ्दो सुन तस्करीको श्रृखला : साढे ६ किलो सुन सहित इजिप्टका नागरिक लासिम पक्राउ

  काठमाडौं मंसिर २४,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ । सुनसँगै प्रहरीले इजिप्ट र सुडानका नागरिकलाई पनि पक्राउ गरेको छ ।  शनिबार राति ११ स् ५१ बजे काठमाडौंमा अवतरण गरेको फ्लाई दुबईको जहाजमार्फत आएका उनीहरुलाई प्रहरीले चेकजाँचका क्रममा सुनसहित पक्राउ गरेको हो । सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीसँग सुन तस्करीमा संलग्न रहेको आशंकामा दुई सुडानी नागरिक पनि पक्राउ परेका छन् । तर उनीहरुले सुन तस्करीमा संलग्नता स्वीकार गरेका छैनन् ।  प्रहरीले बरामद गरेको सुन अर्धठोस अवस्थामा रहेको छ । हाफ ज्याकेटको गोजीमा लुकाएर ल्याइएको सुन भन्सारबाट बाहिरिसकेपछि प्रहरी टोलीले बरामद गरेको थियो ।

यसअघि गत बिहीबार राति फ्लाई दुबईकै जहाजबाट काठमाडौं आएका यात्रुबाट १४ किलो सुन बरामद भएको थियो । सरकारले उक्त सुन तस्करी प्रकरणबारे छानबिन गर्न प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको छ ।