सोमवार, जेष्ठ ७, २०८१

राष्ट्रपति पौडेल जाजरकोटमा, भूकम्प पिडितहरुसंग भलाकुसारी

काठमाडौं कार्तिक २१,

राष्ट्रपति रामचन्द्र पौडेल निर्धारित युरोप भ्रमण स्थगित गरेर आज भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन् । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति पौडेल सुर्खेतबाट जाजरकोट पुग्नुभएको हो ।

 जाजरकोटमा राष्ट्रपति पौडेलले अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिदै भूकम्प प्रभावितहरुहरुसंग अल्पकालिन र दीर्घकालिन आवश्यकताको पहिचान गरी सोको व्यवस्था हुन्छ । चिन्ता नगर्न आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

घाइते भएकाहरूले उपचार, खाद्यन्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन राष्ट्रपति पौडेलसँग आग्रह गर्दै गर्दा उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

 त्यस्तै राष्ट्रपति पौडेललाइ जाजरकोटका प्रजिअ सुरेश सुनारले भुकम्पबाट भएको क्षतिका बारेमा जानकारी गराएका थिए भने घाइतेहरूको अवस्थाका बारेमा जिल्ला अस्पतालका चिकित्सकहरूले जानकारी गराएका थिए ।