सोमवार, जेष्ठ ७, २०८१

मणिपाल अस्पताल प्रकरण: ६ बुँदे सहमतिका वावजुद पनि इमरजेन्सी बाहेकका सबै सेवा आज पनि ठप्प

 काठमाडौं असोज १२,
पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा लमजुङ सुन्दरबजार वडा नम्बर ६ की ५७ वर्षीया दुराको असोज ८ गते मृत्यु भएपछि शुरु भएको आन्दोलन चिकित्सक र मृतकका आफन्तबीच ६ बुँदे सहमति भएसँगै टुङ्‍गिएको छ ।  मृतकका आफन्तले चिकित्सकको लापरबाहीले दुराको मृत्यु भएको भन्दै डा। अनिल शाहमाथि हातपात पछि देशैभरका चिकित्सकहरू आन्दोलित बनेका हुन् । आन्दोलनका कारण चार दिनदेखि अस्पतालको सेवा प्रभावित भएको थियो।

तर बिहीबार राति भएको सहमतिपछि दुवै पक्षले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । जसअनुसार मृतक सुकमाया दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पतालले दुराको गाउँ लमजुङको सुन्दर बजारमा वर्षमा एकपटक विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर चलाउने सहमति भएको छ।

यस्तै दुरा जातीको उपचारमा सहुलियत दिने, मृतक दुराको मृत्युको अनुसन्धानमा दुवै पक्षले सहयोग गर्ने, विनय गुरुङविरुद्ध दर्ता भएको मुद्दामा कानुनी रित पुर्‍याएर सहजीकरण गर्ने र आन्दोलनका कार्यक्रम बिहीबारैदेखि स्थगित गर्नेलगायत बुँदमा दुवै पक्ष सहमत भएका छन् ।

दुवै पक्षबाट आन्दोलनका सबै कार्यक्रमहरू स्थगन गर्ने सहमति भए पनि आवासीय चिकित्सकहरू भने सेवामा फर्किएका छैनन् । चिकित्सकहरू सुरक्षाको प्रत्याभूति नभएसम्म काममा नफर्कने भन्दै उनीहरूले इमरजेन्सी बाहेकका सबै सेवा आज पनि ठप्प पारेका छन् ।