सोमवार, जेष्ठ ७, २०८१

तिथिमा घटबढ: आज जनैपूर्णिमासंगै गाईजात्रा पनि मनाइँदै

काठमाडौं भाद्र १४ ,
बिहीबार देशभरका तागाधारीले नव यज्ञोपवित [जनै] धारण गरेर जनैपूर्णिमा मनाउँदै छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै धारण गर्नका लागि अघिल्लो दिन केश मुण्डन गरी एक छाक मात्र शुद्ध भोजन गरेर बस्ने परम्परा पनि रहेको छ । यसरी जनै र रक्षाबन्धन धारण गरेमा नकारात्मक उर्जा नष्ट भइ सकारात्मक उर्जा प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।

त्यस्तै यस वर्ष तिथि घटबढका कारण कहिंकतै गाइजात्रा पर्व समेत मनाइदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विज्ञप्ति जारी गर्दै भाद्र १४ गते नै ऋषितर्पणी, रक्षाबन्धन र काठमाडौँ उपत्यका र अन्य विभिन्न स्थानमा मनाउँदै आएको सांस्कृतिक पर्वगाईजात्रा पर्व मनाउन मिल्ने जनाएको छ । समितिले १३ गते पूर्णिमासँगै भद्रा पनि रहेको र त्यो रातको नौ बजेसम्म नै रहने भएकाले १४ गते नै जनै धारण गर्नु उत्तम रहेको जनाएको हो ।

यद्यपि भक्तपुरमा भने भक्तपुर नगरपालिकाले तलेजुका पुजारीको परामर्शमा बुधबार नै जनै पूर्णिमा र गाईजात्रा मनाइएको छ । यो वर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि यहाँ अघिल्लो दिन नै जनैपूर्णिमा र आज गाइजात्रा पर्व मनाउदे गरेको छ । त्यस्तै काठमाडौं महानगरपालिकाले शुक्रवार सापारु अर्थात गाइजात्रा पर्व मनाउँन सार्वजनिक विदानै दिएको छ ।