काठमाडौं जेठ २२ ,
आज बसेको संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको जानकारी दिनका लागि गर्नु भएको सम्बोधनको क्रममा भारत भ्रमणका क्रममा राष्ट्रहितविपरित कुनै काम नगरेको दाबी सहित भारत भ्रमण मुलत दुईपक्षीय हितमा केन्द्रीत रहेको र नेपालको विकासका लागि महत्त्वपूर्ण कामहरु अघि बढेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा विद्युत् व्यापार, आर्थिक विकास, कृषि तथा पशु सेवा, पूर्वाधार निर्माणलगायत विषयमा भारत भ्रमण उपलब्धिमूलक रहेको बताउँदै कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतलाई दिएर बंगलादेशसँग जाने बाटो नेपालले लिने प्रस्ताव आफूले नराखेको बताउनुभयो ।
त्यस्तै दुई देशबीचको सीमा विवादको स्थायी र दीर्घकालीन समाधान नगरिएसम्म नेपाल भारत सम्बन्ध सहज बन्न नसकने जनाउसहित आफुले सीमासम्बन्धी विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्न आफूले प्रस्ताव राखेको बताउनुभयो ।
साथै बैठकलाइ सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी ओलीका पालामा ल्याइएको नागरिकतासम्बन्धी अध्यादेश र अहिले राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक एउटै भएकाले यो सबैको साझा भएको दाबी गर्नुभयो ।
यसअघि संसद् बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरण, प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा विवादलगायत विषयमा राष्ट्रहितविपरीत अभिव्यक्ति आएको भन्दै विरोध गरेको थियो । तर पछि प्रम प्रचण्डले आफूले तथ्य राखिसकेपछि खण्डन गर्न सांसदहरुलाई आग्रह गरेको केहि समय पछि अवरुद्ध संसद बैठक सुरु भएको हो ।