शनिबार, बैशाख ८, २०८१

प्रम प्रचण्ड’ आज चारदिने भारत भ्रमणमा जाँदै,यस्तो छ भ्रमणको कार्यतालिका

काठमाडौं जेठ १७,
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्रराष्ट्र भारतको चारदिने औपचारिक भ्रमणका लागि आज दिउँसो भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गर्दैछन्।  प्रधानमन्त्री दाहालसँग परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित करिब ४७ जनाको सरकारी प्रतिनिधिमण्डल त्यस्तै गरि निजी क्षेत्रका ५० भन्दा बढी प्रतिनिधिसहितको जम्बो टिमसहित प्रधानमन्त्री प्रचण्ड भारतको चार दिने भ्रमणमा जान लागेको हो ।

प्रम प्रचण्डको भारत भ्रमणको विषयमा जानकारी दिन परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार भारतसँग दीर्घकालीन ऊर्जा व्यापार, बंगलादेशसँगको विद्युत व्यापारमा प्रसारण लाइनको अनुमति र नेपालले पाउनुपर्ने हवाइ रुटका विषयमा समझदारीहरु हुनेछन् । त्यस्तै केनेक्टिभिटी र कृषिमा सहयोगमा परियोजनाको छलफलसंगै विद्युत क्षेत्रमा भारतीय लगानी आकर्षित गर्न दीर्घकालीन सम्झौताहरु हुने जानकारी दिएका छन् ।

भारत भ्राणको क्रममा आज दिउँसो प्रधानमन्त्री प्रचण्डले भारतीय विदेशसचिव विनयमोहन क्वात्रा, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसंगको भेटवार्ता पछि नेपाली दूताबासले आयोजना गरेको रात्रि भोजमा सरिक हुने कार्यक्रम रहेको छ ।

 त्यस्तै बिहीबार प्रधानमन्त्री प्रचण्डले राजघाटमा पुगेर महात्मा गान्धीको समाधिमा पुष्पगुच्छा अर्पणको कार्यक्रम संगै बिहान ११ बजेर ५ मिनेटमा हैदरावाद हाउसको नीलगिरि कक्षमा प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आधा घण्टा वन टु वन कुराकानीको कार्यसूची रहेको छ । त्यसपछि सम्झौताहरु आदान प्रदानको कार्यक्रमसंगै दुई देशका प्रधानमन्त्रीले केही आयोजनाको संयुक्त उद्घाटनको कार्यक्रम समेत रहेको छ । त्यपछि संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम र त्यसपछि भारतीयसरकारले आयोजना गरेको दिवाभोजमा सरिक हुने कार्यक्रम रहेको छ ।

प्रम प्रचण्डले बिहीबार अपरान्ह भारतका उपराष्ट्रपति जगदीप धनगढ र साढे ४ बजे राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने कार्यसूची रहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

 भ्रमणको तेस्रो दिन शुक्रबार बिहान ८ बजे इन्दोर शहर जानेछन् । त्यहाँ मध्यप्रदेशको ठूलो शहर इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्टको निरीक्षण गर्ने कार्यक्रम संगै मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेल ,बीजेपीका नेता एवं मुख्यमन्त्री शिवराज सिंहसंगको भेटवार्ता र रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको छ।्त्यस्तै भ्रमणको अन्तिम दिन शनिबार प्रधानमन्त्री दाहालले इन्दोरमा रहेको विशेष आर्थिक क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । अपरान्ह १ बजे उनी त्यहाँबाट इन्दिरागान्धी अन्तरराष्ट्रिय विमानस्थलमा आउने छन् र त्यहाँ एक घण्टा बिताएर नेपाल एयरलाइन्सको नियमित उडानबाट ४ बजेर २० मिनेटमा स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।