काठमाडौं जेठ १६,
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवम् महिला, बालबालिका तथा समाज कल्याण पूर्व राज्यमन्त्री मीना पाण्डेको ७२ वर्षको उमेरमा निधन भएको छ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबार अपराह्न काठमाडौं गौशालास्थित निजी निवासमा उहाँको निधन भएको हो। २००८ सालमा जन्मनु भएकी पाण्डेले २०३५ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवनयात्रा प्रारम्भ गर्नुभएको थियो। तीन पटकसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य बन्नुभएको थियो। अन्तिम श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर अहिले पशुपति आर्यघाटमा राखिएको छ।
पाण्डेको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ। सभापति देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले पुर्याउनुभएको योगदान स्मरणीय रहने भन्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो। उहाँले परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नुभएको छ। उहाँको शोकमा बुधबार केन्द्र र जिल्ला कार्यालय बन्द हुनेछन्। निधन भएको १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने र शोक सभाको आयोजना गर्ने निर्णय कांग्रेसले गरेको छ।
पद्मकन्या बहुमुखी क्याम्पसकी प्रथम स्ववियू सभापति समेत रहेकी पाण्डेको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।