शुक्रबार, चैत्र १६, २०८०

नेपाल प्रहरीका क्रिकेट खेलाडीहरू सम्मानीत

काठमाडौं वैशाख २० ,
राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी एसीसी प्रिमियर कप-२०२३” लगायत विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका ६ जना क्रिकेट खेलाडीहरूलाई सम्मान गरिएको छ ।

नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रमबीच उहाँहरूलाई प्रशंसापत्र तथा नगद पुरस्कारद्वारा सम्मान गर्नुभएको हो ।

सम्मानित हुने खेलाडीहरूमा प्रहरी कर्मचारीहरू नेपाल पुलिस क्रिकेट टिमका क्याप्टेन दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, मोहमद आरिफ शेख, ललित राजवंशी एवम् नेपाल प्रहरीमा आवद्ध करण केसी र गुल्सन झा रहेका छन् ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी संगठन र राष्ट्रको प्रतिनिधित्व गर्दै सहभागी भई हालै सम्पन्न भएको एसीसी प्रिमियर कप(२०२३ मा उत्कृष्ट प्रदर्शन गरी विजयी हासिल गरेकोमा बधाई दिनुभयो । त्यस्तै उहाँले नेपाल प्रहरीका खेलाडीहरूको मनोबल उच्च गराउन, क्षमता अभिवृद्धि गर्न र वृत्तिविकासका लागि संगठन सदैव क्रियाशील रहेको बताउनुभयो ।