बिहिबार, चैत्र १५, २०८०

वायु प्रदुषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन

काठमाडौँ बैशाख ५,
विष्णुमती नदीलाई छुने काठमाडौँ महानगरपालिकाका १० वटा वडालाई समेटेर वायु प्रदुषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन भएको छ । महानगरको वातावरण व्यवस्थापन विभागले आज वडा नं. १२, १३, १४, १५, १६, १७, १८, १९, २० र २५ वाट जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधिको उपस्थितीमा निरु महर्जनको अध्यक्षतामा ११ सदस्यीय सञ्जाल गठन गरेको हो । सञ्जालमा १० वटा वडामध्ये वडा नं. १६ बाट २ जना र बाँकी वडाबाट १÷१ जना सहभागी रहेका छन ।

त्यस्तै सञ्जालको उपाध्यक्षमा पपुल सापकोटा र सचिवमा पवनप्रसाद गोर्खाली हुनुहुन्छ भने सदस्यहरुमा गोविन्द श्रेष्ठ, स्वीट थापा, सरिता बज्राचार्य, अनेश चित्रकार, नानीहेरा डंगोल, कमल काफ्ले, गौरी देवकोटा संगै वडा न १८ का सदस्य रहेका छन ।  सञ्जालसँगै सागर प्रजापती, कृपा श्रेष्ठ र विभूति मानन्धर रहेको ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ ।

 नवगठित नागरिक सञ्जालले समुदायस्तरमा जथाभावी फोहोर तथा प्लाष्टिक बाल्न रोक लगाउने ,विशेष सरसफाई अभियान सञ्चालन गर्ने घरभित्रको प्रदुषण कम गर्न कामलाई घर घरमा गएर सचेतना फैलाउने वायु गुणस्तरको सवालमा नियमित छलफल गरेर नीति, मापदण्ड तथा अनुगमन गर्ने विषयमा सुझाव दिनुको अलावा प्रस्तावित विषयमा बहस, छलफल, अन्तरक्रियाको आयोजना गर्ने लगायतका विषयमा कार्यादेश दिइएको छ ।

पछिल्लो समय काठमाडौँ महानगरसहित ललितपुर महानगरपालिका, चन्द्रागिरी, चाँगुनारायण र शंखरापुर नगरपालिकामा स्वच्छ हावाका लागि कार्यक्रम थालिएको छ । यस कार्यक्रमअन्तर्गत वायु प्रदुषणको अवस्थाका विषयमा प्रमाण जुटाउने, प्रमाणका आधारमा नीति निर्माणमा सहयोग गर्ने, नागरिक समाजको क्षमता विकास गरेर प्रदुषण नियन्त्रणका लागि जिम्मेवार बनाउने लगायतका कार्यक्रम सञ्चालन हुँदै आएको छ ।