बिहिबार, चैत्र १५, २०८०

बिस्केट जात्रा लक्षित हुँदै भक्तपुरमा खुलारुपमा मदिरा बिक्री वितरणमा लाग्यो रोक

भक्तपुर चैत २५,
जिल्ला प्रशासन कार्यालय भक्तपुरले भक्तपुरमा नव वर्षको शुभारम्भ संगसंगै ८ रात ९ दिनसम्म मनाइने बिस्केट जात्रा लक्षित हुँदै चैत २७ गतेबाट वैशाख ५ सम्म मनाइने जात्राको क्रममा खुलारुपमा मदिरा बिक्री वितरण गर्न रोक लगाएको छ।

भक्तपुर र मध्यपुरथिमि नगरपालिका तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मनाइने बिस्केट जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न गराउन मदिरा बिक्री वितरणलाई रोक लगाउने निर्णय गरेको हो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्वारा प्रशासनको तर्फबाट जारी गरिएको सार्वजनिक सूचनामा “खुला वा बोतलमा मदिरा वा मदिराजन्य पदार्थको बिक्री वितरण, ओसारपसार तथा सेवन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ उल्लेख गरिएको छ ।

त्यस्ते जात्राको समयमा ढुङ्गामुढा गर्ने, हुलहुज्जत तथा होहल्ला गर्ने र उच्छृङ्खल गतिविधि गर्नेलाई पनि कडा कारबाही गरिने जनाउ सहित त्यस्ता गतिविधिमा नलाग्न समेत आह्वान समेत गरिएके छ।

त्यसैगरी मध्यपुरथिमि नगरपालिकामा विशेष गरी चैत ३० गते, वैशाख १ गते र वैशाख २ गते मनाइने सिन्दूर तथा जिब्रो छेड्नेलगायतको जात्रालाई पनि शान्ति पूर्णरुपमा सम्पन्न गर्न मध्यपुरथिमि नगरपालिका क्षेत्र भित्र मदिरा बिक्री वितरण तथा खुलारुपमा सेवन गर्न नगरपालिकाले निषेध गरेको छ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले शान्तिपूर्णरुपमा हर्षोल्लासका साथ अहिलेसम्म मनाइँदै आएको यहाँको जात्रालाई यस वर्ष पनि शान्तिपूर्णरुपमा सम्पन्न गर्न मदिरा बिक्री वितरण तथा खुलारुपमा सेवन गर्न रोक लगाएको छ।