मङ्लबार, बैशाख ४, २०८१

जनयुद्ध दिवस खारेजीको मागसहित रिट दर्ता सर्वोच्चले गर्यो दरपीठ

काठमाडौं चैत १३,
सरकारले वार्षिक क्यालेन्डरमा जनयुद्ध दिवसलाई समावेश गरी सार्वजनिक बिदा दिने विषयगत एजेन्दामा गरेको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदन दरपीठ भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयविरुद्ध रामेछापका कल्याण बुढाथोकीले दिएको रिट निवेदनको विषयवस्तु सरकारको नीतिगत विषय भएको भन्दै सर्वोच्च प्रशासनले दरपीठ गरेको हो । यस प्रकारका विषयमा प्रवेश गरी अहिले नै न्यायिक निरुपणको विषय बनाउन उपयुक्त नहुने भन्ने आदेश भइसकेको उल्लेख गर्दै सर्वोच्च प्रशासनले उक्त रिट दर्ता गर्न अस्वीकार गरेको हो ।

त्यस्तै सर्वोच्चबाट जारी दरपीठ आदेशमा राज्यको कार्यकारी निकायबाट कहिले बिदा दिने वा कहिले नदिने, कुन दिवस वा उत्सव मनाउने वा कुन नमनाउने भन्ने जस्ता नीतिगत विषयमा निर्णय गर्न सक्ने देखिएको अवस्थामा सरकारले जनयुद्ध दिवसमा बिदा दिने निर्णय गरेको मिलेन बदर गरिपाउँ भनी दर्ता हुन आएको निवेदन मा उल्लेख विषय अदालतबाट न्याय निरुपण हुन सक्ने नदेखिँदा प्रस्तुत रिट निवेदन दर्ता गर्न मिलेन,’ भनिएको छ ।