बिहिबार, जेष्ठ १८, २०८०

माओवादीका मन्त्रीको राजीनामासंगै गण्डकी प्रदेश सरकार अल्पमतमा

 काठमाडौं चैत १०,
गण्डकी प्रदेश सरकारका दुई मन्त्रीले आज राजीनामा दिएका छन् । नेकपा  माओवादी केन्द्र सम्वद्ध भौतिक पूर्वाधार विकासमन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जालीले मुख्यमन्त्री खगराज अधिकारीसमक्ष राजीनामा बुझाएको हो ।

यसअघि आजै बसेको माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार गण्डकी प्रदेश सरकार छाड्न संसदीय दललाई निर्देशन दिएका थिए।

माओवादीले समर्थन फिर्तासंगै एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । संवैधानिक व्यवस्थाअनुसार अब ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत पाउन प्राप्त गर्न नसके मौजुदा एमालेका नेता खगराज अधिकाीनेतृत्वको वर्तमान सरकार ढल्नेछ ।

यसअघि एमालेका २२, माओवादी केन्द्रका आठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई प्रदेशसभा सदस्यको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।