शुक्रबार, चैत्र १६, २०८०

बैशाख १० मानै चितवन-२,तनहुँ १ र बारा-२ मा पनि उपनिर्वाचन हुने

समानुपातिक सासंद शहनाज रहमानको निधन भई रिक्त रहेको प्रतिनिधि सभा सदस्यमा मन्जु शर्मा निर्वाचित

काठमाडौं चैत्र ६,
निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि रिक्त भएको तनहुँ १ र बारा २ मा पनि आगामी बैशाख १० गते नै उपनिर्वाचन गर्ने भएकोछ ।  ‘निर्वाचन आयोगको आज बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम संवत २०८० साल बैशाख १० गते आइतबारका दिन तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्नुका साथै उक्त दिन बिहान ७ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म मतदान हुने गरी मतदानको समयसमेत निर्धारण गरिएको छ’, बैठकपछि जारी विज्ञप्तिमा उल्लेख गरिएकेछ ।

यसअघि आयोगले रास्वपा सभापति रवि लामिछानेले नागरिकता प्रकरणका कारण सांसद पद गुमाएपछि चितवन २ मा पनि आगामी बैशाख १० मा निर्वाचन हुने गरी मिति तोकेको थियो ।  आयोगका अनुसार २०७९ चैत १६ गते उपनिर्वाचन प्रयोजनका निम्ति आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ भने चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने कार्ययोजना तय गरेका छन ।

त्यस्तै उपनिर्वाचन प्रयोजनका लागि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई मिति चैत ८ गतेदेखि मिति २०७९ चैत १२ गतेसम्म राजनीतिक दल दर्ता गर्ने समय उपलब्ध गराउने गरी दल दर्ताको सूचना जारी गर्ने आयोगले जनाएको छ ।

त्यस्तै बैठकले २०७९ सालको प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत जसपा नेपालबाट बन्दसूचीको क्रम ५२, लिङ्ग महिला, समावेशी समूह मुस्लिम, समावेशी समूहभित्रको प्राथमिकता क्रम १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएका शहनाज रहमानको निधन भई रिक्त रहेको प्रतिनिधि सभा सदस्यमा बन्दसूचीको क्रम ५३, लिङ्ग महिला, समावेशी समूह मुस्लिम, समावेशी समूहभित्रको प्राथमिकता क्रम २ मा रहनुभएका मतदाता नम्बर ०६७४६२४९ को मन्जु शर्मालाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको घोषणा गरिएको छ ।