सोमवार, बैशाख ३, २०८१

विस्तृत शान्ति सम्झौताको मर्मविपरीतका कुनै पनि गतिविधिको प्रतिवाद गर्ने माओवादी घटकको निष्कर्ष

काठमाडौ फागुन २८,
जनयुद्धकालिन माओवादी घटकका आठ राजनीतिक दलले आज सयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको मुद्धाको विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डविरुद्धको मुद्धा दायर प्रकरण मुलुकलाई प्रतिगमनको दिशामा अगाडि बढाउन चाहने पात्र र प्रवृत्तिको षडयन्त्र भएको बताएका छन् ।

पत्रकार सम्मेलन पछि जारी सयुक्त विज्ञप्तिमा सङ्क्रमणकालीन न्यायसँग जोडिएका मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकारभित्र पर्ने स्पष्ट रहेको उल्लेख गर्दै कानुन परिमार्जनसहित आयोगलाई पूर्णता दिई शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पूरा गर्न विलम्व नगर्न समेत माग गरेका छन ।

त्यस्तै विज्ञप्तिमा पत्रकार सम्मेलनमा वोल्ने माओवादी घटकका नेताहरुले विस्तृत शान्ति सम्झौताको मर्मविपरीतका गतिविधि विरुद्धका सबै किसिमका षडयन्त्र प्रतिवाद जरुरी रहेको जनाउ सहित शान्ति सम्झौता विपरीतका गतिविधि किमार्थ स्वीकार्य नभएको र शान्ति सम्झौता र सहमतिका बर्खिलापका कुनै पनि गतिविधिको प्रतिवाद गर्न आफूहरु एकै ठाउँमा उभिन परेको उल्लेख गरिएको छ ।

 साथै तत्काल शान्ति प्रक्रियाका बाँकी कामलाइ पूर्णता दिदै द्वन्द्वकालीन घटनाको निरुपण गर्ने जिम्मेवारी सत्य निरुपण तथा मेलमिलाप आयोगलाई दिएअनुरुपका कार्य सम्पादन हुनु पर्नेमा जोड दिदै संयुक्त विज्ञप्तिमा द्वन्द्वबाट पीडित नागरिक तथा उनीहरुका परिवारलाई न्याय दिलाउने सन्दर्भमा सर्वोच्च अदालतले विद्यमान कानुनमा सुधार गर्न दिएको निर्देशनमा आफूहरुको ध्यानाकर्षण भएको भएको र मुलुकमा विद्यमान जातीय, क्षेत्रीय, लिङ्गीय वर्गीयलगायतका समस्या समाधान गरी राज्यको अग्रगामी पुनःसंरचना गर्ने सङ्कल्प समेत गरिएको छ ।

पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण वहादुर महरा, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सिपी गजुरेल, नेपाल समाजवादी पार्टीका उपाध्यक्ष हिसिला यमी, नेकपा महासचिव नेत्रविक्रम चन्द, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नेपाल कम्युनिष्ट पार्टी बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला, वैज्ञानिक समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी र माओवादीका कम्यनिसट पार्टीका महासचिव रामनारायण पाललगायतले आफ्नो धारणा राख्नु भएको थियो ।