मङ्लबार, बैशाख ११, २०८१

आयोगले बुझायो राष्ट्रपतिसमक्ष निर्वाचनको परिणामसहितको प्रतिवेदन

काठमाडौं फागुन २६,
निर्वाचन आयोगले फागुन २५ गते सम्पन्न राष्ट्रपतिको निर्वाचनको परिणामसहितको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । नेपालको संविधानको धारा ६२ बमोजिम सम्पन्न राष्ट्रपतिको निर्वाचन परिणाम सहितको प्रतिवेदन राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम राष्ट्रपति भवन शीतल निवासमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले पेश गर्नुभएको हो ।

सो अवसरमा सम्माननीय राष्ट्रपति भण्डारीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराएकामा आयोग, सम्बन्धित राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा सहभागी हुने निर्वाचक मण्डलका सदस्य, निर्वाचन सम्पन्न गराउन खटिएका कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबै पक्षमा हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।

त्यस अवसरमा निर्वाचन आयुक्तहरू रामप्रसाद भण्डारी, डा।जानकी कुमारी तुलाधर, सगुन शम्शेर जबरा, आयोगका सचिव गोकर्णमणि दुवाडीसहितको सहभागिता रहेको आयोगले जनाएको छ ।