बिहिबार, चैत्र १५, २०८०

माओवादी घटको बैठक: विस्तृत शान्ति सम्झौताको भावना विपरीतका गतिविधिको प्रतिवाद गर्ने निर्णय

काठमाडौँ फागुन २३,
सत्तारुढदल नेकपा माओवादी सहित जनयुद्धकालीन माओवादीका शीर्ष नेताहरूको आज बसेको बैठकले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउन आवश्यक कानुनी एवं संस्थागत व्यवस्था सहित सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित सबै विषय सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमार्फत अगाडि बढाउनुपर्छ भन्नेमा एकमत अभिव्यक्त गरेको हो ।

त्यस्तै बैठकपछि जारी संयुक्त विज्ञप्तिमा विभिन्न समयमा राज्यसँग भएका सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउन आवश्यक कानुनी एवम् संस्थागत व्यवस्थाका लागि तत्काल पहल गर्न सरकारसँग माग समेत गरेको छ ।

शान्ति सम्झौता विपरीतका गतिविधि सतहमा देखिन थालेको ठहर सहित शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउने सवालमा साझा धारण सहित बैठक पछि जारी विज्ञप्त्मिा प्रधानमन्त्री समेत रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’, नेसपाका डा बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सिपी गजुरेल र खड्गबहादुर विश्वकर्मा, नेकपाबहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव विश्वभक्त दुलाल, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी र माओवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य नारायणप्रसाद धिमाल लगायथले हस्ताक्षर गरेका छन ।