शनिबार, बैशाख ८, २०८१

दूरसञ्चारलाई सेवामुखी बनाउँदै जनताले महसुस गर्ने कार्यक्रम सञ्चालन गर्न आवश्यक :मन्त्री शर्मा

नेपाल दूरसञ्चार प्राधिकरणको रजत वर्ष :
काठमाडौ फागुन २०,
नेपाल दूरसञ्चार प्राधिकरणको रजत महोत्सवको कार्यक्रमलाइ  सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर वृद्धिसंगै सबै ठाउँ र सबै जनताको पहुँच स्थापित गर्नुपर्ने बताएकी छन् ।

त्यसअवसरमा सरकारका प्रवक्ता समेत रहनुभएका उहाँले साइबर सुरक्षा, तथ्याङ्कको सुरक्षा तथा गोपनीयता कायम गर्न आवश्यक नीतिगत र कानूनी प्रबन्ध गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको बताउँदै दूरसञ्चार क्षेत्रभित्रका विकृति र विसङ्गति हटाएर दूरसञ्चार क्षेत्रको नियमनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिँनुभएको छ । प्रभावकारी नियमनसंगै दूरसञ्चारलाई सेवामुखी बनाउँदै जनताले महसुस गर्ने कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताइन् ।

साथै सामाजिक उत्तरदायित्वका कार्यलाई प्राथमिकता दिन विशेष आग्रह गर्दै प्राधिकरणले उपलब्ध राज्यको स्रोतको सदुपयोग गरी सूचना प्रविधिमार्फत जनताको जीवनस्तर उठाउन ठोस पहलकदमी लिन आवश्यक रहेकोमा विशेष जोड दिनुभएको छ ।

त्यस्तै रजत वर्षको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पछिल्लो समय प्रविधि विकासको हरेक क्षेत्रमा काम भइरहेको बताउँदै मौजुदा दूरसञ्चार ऐनलाई समय सापेक्ष बनाउनका लागि नयाँ ऐनको मस्यौदा तयार पारिएको जानकारी दिनुभयो ।  साइबर सुरक्षाका विषयमा आम मानिसमा सचेत गराउने क्षेत्रमा समेत प्राधिकरणले निरन्तर काम गर्दै आएको जानकारी दिदै अध्यक्ष खनालले दुरसञ्चार सेवामा अवरोध गर्ने जोसुकैलाई पनि कडा कारबाहीको दायरमा ल्याउनु आवश्यक रहेको बताउनुभयो ।