बुधबार, बैशाख १२, २०८१

जनप्रतिनिधिहरुलाई नगरको मौलिक नाम सम्बन्धी अभिमुखीकरण

 भक्तपुर फागुन १६,
मध्यपुर थिमि नगरपालिकाका जनप्रतिनिधिहरुलाई नगरका मौलिक नाम अभिलेखिकरण तथा प्रतिस्थापन सम्बन्धमा मंगलवार अभिमुखीकरण गरिएको छ । नगरपालिकाले गठन गरेको मौलिक नाम अभिलेखिकरण तथा प्रतिस्थापन समितिले नगर प्रमुखलगायत वडाअध्यक्ष, कार्यपालिका सदस्य र नगरसभा सदस्यहरुलाई सो सम्बन्धमा अभिमुखीकरण गरेको हो ।

कार्यक्रममा समितिका संयोजक ई. राजेन्द्र श्रेष्ठले कुनै पनि स्थानको मौलिक पहिचान स्थापित गरी भावी पुस्तालाई सो को महत्व बताउन स्थान विशेषको मौलिक नामाकरण आवश्यक भएकोले यो अभियान सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले विश्वमा सन् १८०० देखी मौलिक पहिचानसहितको नामको संरक्षण गर्ने अभियान शुरु भएको जानकारी दिँदैं संयुक्त राष्ट्र संघले समेत छुट्टै समिति गठन गरी मौलिक नामाकरणको सम्बन्धमा कार्य गर्दै आइरहेको बताउनुभयो ।

त्यसैगरी समितिका सदस्य सचिव तुलसीभक्त तकोले समितिको उद्देश्य, काम कर्तव्य अधिकार, मौलिक नामाकरणका सूचांक, विधि, पद्धतीका बारेमा सहभागीहरुलाई जानकारी दिनुभएको थियो । कार्यक्रममा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले नगरमा बढ्दो शहरीकरण र बस्ती विकाससँगै स्थानीय पहिचान सहितको मौलिक नामहरु लोप हुने अवस्था आएकोले नगरपालिकाले स्थानीय अभियन्ता र विज्ञसहितको समिति गठन गरी मौलिक नामको संरक्षण कार्य शुरु गरिएको बताउनुभयो ।

साथै उहाँले नगरका विकास निर्माण राजनीति नगर्न आग्रह गर्दै निर्वाचनमा दलको प्रतिनिधिको रुपमा उम्मेदवार भएपनि विजयी भईसकेपछि जनताको प्रतिनिधि भएकाले विकास निर्माणमा कहिल्यै पनि पूर्वाग्रह नहुने स्पष्ट पार्नुभयो ।