शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन लक्षित निर्वाचन आचारसंहिता जारी

काठमाडौं फागुन १६,
निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको र आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचन लक्षित हुँदै निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख गर्दै जारी निर्वाचन आचारसंहिता फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने जनाएको छ ।

साथै निर्वाचन सम्बन्धी स्वीकृत कार्यक्रमबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भई गत फागुन १३ गते उम्मेदवारीको मनोनयनपत्र समेत दर्ता भइसकेको छ ।

आयोगको निर्णय अनुसार जारीआचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी एवं सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय तथा कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवं मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चार प्रतिष्‍ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई लागु हुने जनाइएकोछ।