शुक्रबार, चैत्र १६, २०८०

व्यवस्थापक, सम्पादक र प्रशासन प्रमुखको गैरजिम्मेवारी , ६ महिनादेखि पत्रकार पारिश्रमिक विहिन

काठमाडौ फागुन १५,
राजधानी पब्लिकेशनद्धारा सञ्चालित राजधानी राष्ट्रिय दैनिकमा ६ महिनादेखि पत्रकार तथा कर्मचारीले पारिश्रमिक पाउँन सकेका छैनन् ।  नेपाल पत्रकार महासंघ राजधानी प्रतिष्ठान शाखाका अध्यक्ष इश्वर विश्वकर्माले आज एक विज्ञप्ति जारी गर्दै ६ महिनादेखि पत्रकार तथा कर्मचारीले पाउन बाँकी  पारिश्रमिक तत्काल भुक्तानी उपलब्ध गराउन माग गरेको हो ।

शाखाका अध्यक्ष विश्वकर्माले जारी विज्ञप्तिमार्फत प्रतिष्ठान शाखा यस दैनिकको व्यवस्थापक, सम्पादक तथा प्रशासन प्रमुखलाई आफ्नो दायित्व पूरा गर्नु मात्रै नभएर नैतिकता र मानवीय भावना देखाउन माग गर्दै पारिश्रमिक लगायतका ६ महिनाकै बाँकी पारिश्रमिक भुक्तानी नभए प्रतिष्ठान शाखा कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिएकोछ ।

त्यस्तै जारी विज्ञप्तिमा प्रतिष्ठान शाखाले नेपाल सरकार र मातहतका सञ्चार प्रतिष्ठानको नियमनकारी सबै निकायलाई समेत यस विषयलाई गम्भीर रुपमा लिन अनुरोध गरेको छ।

त्यस्तै राजधानी दैनिकमा कार्यरत पत्रकार तथा कर्मचारीले लामो समयदेखि सेवा सुविधा नपाउँदा उनीहरुको दैनिक जीवन यापनमा समेत समस्या देखिए पनि नैतिकता र मानवीय संवेदना विपरित व्यवस्थापक, सम्पादक तथा प्रशासन प्रमुखले गैरजिम्मेवारी प्रदर्शन गर्दै मुकदर्श बन्दै आएको जनाएको छ ।