शनिबार, बैशाख ८, २०८१

प्रेमा’को रोमान्टिक गीत ‘मन मनमा’ सार्वजनिक

काठमाडौं फागुन ५,
आगामी चैत १७ गते बाट रिलिज हुने फिल्म ‘प्रेमा’को रोमान्टिक गीत ‘मन मनमा’ सार्वजनिक भएको छ । गीतमा रिकेश गुरुङ र सुबानी मोक्तानको स्वर, अनिल शर्मा र सुशान्त गौतमको शब्द तथा सुशान्तकै सङ्गीत छ ।

गीतमा फिल्मका प्रमुख दुई पात्र शुभेक्षा खड्का र अरुण क्षेत्री फिचर्ड छन् । वसन्तपुर दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भू र बौद्ध जस्ता पर्यटकीय क्षेत्रमा छायाङ्कन गरिएको गीतमा शुभेक्षा र अरुणको टुसाउँदै गरेको प्रेमदेखि विकसित प्रेम देखाइएको छ । गीतमा अर्की अभिनेत्री सृष्टि श्रेष्ठको ‘सरप्राइज’ प्रवेश देखाइएको छ ।

त्यस्तै गीतमा लेखक तथा निर्देशक गोविन्द सिंह भण्डारीले शारीरिक हाउभाउ र आँखा–आँखाको हेराइमार्फत प्रेम अभिव्यक्त गराएका छन् ।

बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण गरिएको त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्म ‘प्रेमामा शुभेक्षाले शीर्ष चरित्र ‘प्रेमा’को भूमिका निर्वाह गरेकी छन् । काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा अरुण, शुभेक्क्षा र सृष्टिका अलावा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलियाको अभिनय रहेको छ ।