बुधबार, बैशाख १२, २०८१

महासंघ र नेत्रज्योति संघबीच सम्झौता

काठमाडौ माघ १८,
नेपाल पत्रकार महासंघ र नेपाल नेत्रज्योति संघ बीच पत्रकारको आँखा सम्बन्धी स्वास्थ्य उपचार गर्नका लागि सम्झौता भएको छ । बुधबार नेपाल पत्रकार महासंघमा भएको एक कार्यक्रमका बीच दुवै संस्थाका पदाधिकारीको उपस्थितिमा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल र नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा.चेतराज पन्तले हस्ताक्षर गर्नुभएको छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले प्रविधिको विकाससंगै लामो समय कम्प्युटर लगायतका उपकरणको प्रयोगले पत्रकारहरुमा आँखाको स्वास्थ्य समस्या देखिन थालेको बताउँदै उहाँले दुई संस्थाबीचको सम्झौताले देशभरिका पत्रकार लाभवान्वित हुने बताउनुभयो ।

नेपाल नेत्रज्योति संघ नेपालका अध्यक्ष प्रा.डा.चेतराज पन्तले जनचेतनाको अभावले आँखासम्बन्धि समस्या भएका बिरामीहरुले उपचार पाउन नसकेको बताउनुभयो । उहाँले निको हुने आँखाका रोगीको समेत उपचार हुनसकेको भन्दै त्यसको निराकरण गर्न संस्था लागेको बताउनुभयो ।
सम्झौतापत्रमा उल्लेख भएअनुसार महासंघको समन्वयमा ६ वटा प्रदेशमा फागुनभित्र र दुबै संस्थाको स्थापना दिवसको अवसरमा र चैत महिनामा काठमाडौं उपत्यकामा रहेका पत्रकारका लागि निशुल्क आँखा शिविर आयोजना गर्ने उल्लेख रहेको छ । शिविरमा पत्रकारका लागि आवश्यक चश्मासमेत निशुल्क उपलब्ध गराईने जनाइएको छ ।
कार्यक्रममा महासंघका सचिव गोविन्द चौलागाई, कोषाध्यक्ष कलेन्द्र सेजुवाल, लेखा समिति संयोजक लेखनाथ न्यौपाने र नेत्रज्योति संघका महासचिव भरत बहादुर चन्द, कोषाध्यक्ष द्रोण प्रसाद गुरागाई लगायतको उपस्थिति रहेको थियो ।