बुधबार, बैशाख १२, २०८१

आत्मदाह गरेका आचार्यले उठाएका विषय छानबिन गर्न गृहका सहसचिवको नेतृत्वमा समिति गठन

काठमाडौ माघ १२ ,
गृह मन्त्रालयले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठान गरेको विषयको छानबिनका लागि मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

मन्त्रालयले गठन गरेको समितका सदस्यमा क्रमस अर्थ मन्त्रालयका उपसचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक सदस्य रहेका छन ।

त्यस्तै समिति लाइ आचार्यले सामाजिक सञ्जालमा उठान गरेका विषयको सम्बोधनका लागि सरकारले के–के गर्नुपर्ने हो सुझावसहितको प्रतिवेदन तयार पार्ने गरी समितिलाई कार्यादेश दिइएको गृहमन्त्री रवि लामिछानेका प्रेस संयोजक नवराज पाण्डेले जानकारी दिनुभयो ।

आचार्यले मङ्गलबार बानेश्वरमा आत्मदाहको प्रयास गरी घाइते भएकामा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको थियो । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यको विषयमा छानबिन गर्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।

आचार्यको निधनपश्चात कीर्तिपुरस्थित अस्पताल पुगेर बुधबार गृहमन्त्री रवि लामिछानेले उनका परिवारका सदस्यहरूसँग भेट गरी समस्यामा सरकारसँगै रहेको र आचार्यले सामाजिक सञ्जालमा उठाएका विषयमा छानबिन गरी समाधान खोज्न प्रयत्न गर्ने आश्वासन दिनुभएको थियो ।