बुधबार, बैशाख १२, २०८१

एटिआर वायुयानको प्राविधिक परीक्षणको क्रममा प्राविधिक त्रुटि फेला नपरेको प्राधिकरण जनाउ

प्राधिकरणलाई बुझाइयो फ्लाईट डाटा  र ककपिट भ्वाइस रेकर्डर

काठमाडौं माघ २ ,
पोखरामा आइतबार भएको यती विमान दुर्घटनासंगै जहाजको प्राविधिक विषयमा सर्वत्र चासो देखिएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा प्रयोग भइरहेका सबै एटिआर जहाजको प्राविधिक परीक्षण गरिएको जनाएकोछ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले आज साँझ विज्ञप्ति मार्फत सुरक्षा निरीक्षकहरूबाट नेपालमा सञ्चालित सम्पूर्ण एटिआर–४२ तथा एटिआर–७२ वायुयानको थप विस्तृत प्राविधिक परीक्षण गरिएको जानकारी दिनुभएको हो ।

त्यस्तै जारी विज्ञप्तिमा परीक्षणका क्रममा उपरोक्त वायुयानहरूमा कुनै प्राविधिक त्रुटि फेला नपरेको जनाउँदै कुनै पनि वायुयानको नियमित उडान योग्यता [एयरवर्दिनेस] का लागि दैनिक गरिने ‘डेली इन्सपेक्सन’, उडानपूर्व गरिने ‘प्री फ्लाइट इन्सपेक्सन’ जस्ता मर्मतसम्भारका कार्यहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन[आइकाओ] को मापदण्ड तथा सिफारिस एवं वायुयान निर्माता कम्पनीका मापदण्डबमोजिम गर्ने गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

साथै घटनाप्रति दुःख व्यक्त गर्दै प्राधिकरणले दुर्घटनामा ज्यान गुमाउने चालक दलका सदस्य तथा यात्रुहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

यसैवीच आइतबार पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानको ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर सुरक्षित रुपमा प्राप्त भएकाले सशस्त्र प्रहरीमार्फत नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरिएको छ । ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । फेला परेको उक्त ब्ल्याक बक्स आजै काठमाडौँ ल्याउने र दुर्घटना जाँच आयोगलाई बुझाइने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।