बुधबार, बैशाख १२, २०८१

विमान दुर्घटना: केन्द्रीय सदस्य पौडेलको निधनले महासंघ स्तब्ध

१३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने,केन्द्र, प्रदेश र सबै शाखा कार्यालयमा शोक पुस्तिका राखिने

काठमाडौं माघ १,
नेपाल पत्रकार महासंघले काठमाडौंबाट आज बिहान १०: ३२ बजे ६८ यात्रु र चार चालक दलका सदस्यसहित पोखरा उडेको यति एयरलाइन्सको विमान दुर्घटना परि महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको ३७ वर्षको अल्पायुमै निधन भएको दुःखद् खबरले महासंघ स्तब्ध र शोकमग्न भएको जनाएको छ ।

महासंघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय सदस्य पौडेलको निधनमा महासंघ केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने र माघ २ गते सोमबार महासंघका केन्द्र, प्रदेश र सबै शाखा कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

त्यस्तै महासंघका महासचिव रोसनपुरीले जारी गर्नुभएको शोक विज्ञप्तिमा महासंघले केन्द्रीय सदस्य पोडेलको निधन प्रति दुख व्यक्त गर्दै  १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने र १३ दिनसम्म केन्द्रीय कार्यालयलगायत प्रदेश र शाखा कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

त्यस्तै ोिडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, जुझारु र उर्जाशील युवा पत्रकार गुमाउनुको साथै नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएदै स्वर्गीय पौडेलसहित विमान दुर्घटनामा निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनाका साथै, शोकको यस घडीमा शोकसन्तप्त सम्पूर्णको परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गरेको छ।