बिहिबार, चैत्र १५, २०८०

आयोगले माघ २ देखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक सुरु गर्ने

राष्ट्रियसभा सदस्य उपनिर्वाचन कार्यक्रम स्वीकृत

काठमाडौं पुस २५,

निर्वाचन आयोगले आगामी माघ २ गतेदेखि मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि आयोगले गत साउन १९ गतेदेखि मतदाता नामावली सङ्कलन र अद्यावधिको कार्यलाइ स्थगन गरेको थियो । यद्यपी आगामी माघ २ गतेदेखि ३७ वटै निर्वाचन कार्यालयबाट मतदाता नामावली प्रि इनरोलमेन्ट प्रणाली अर्थात अनलाइनबाट सुरु गर्नेगरी तयारी गरिएको आयोगले आज जारी विज्ञप्ति मार्फत जनाएको छ ।

त्यस्तै जारी विज्ञप्तिमा आयोगले यसवीचमा बाहिरी जिल्ला मतदाता नामावली सङ्कलन गर्न, आफ्नो मतदाता नामावलीको विवरणमा रहेको त्रुटि सच्याउन , विवाह वा बसाइँ सरेका कारण नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा आवश्यक प्रमाणसहित प्रि–इनरोलमेन्ट प्रणाली आवेदन गर्न सकिने जनाएकोछ ।

त्यस्तै मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै व्यक्तिले मतदाता नामावलीमा दोहोरो नाम दर्ता नगराउनु हुन तथा कानून बमोजिम मतदाता हुन योग्य भएका सम्पूर्ण नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ताका लागि अनलाइनमार्फत आवेदन दिन समेत आयोगले आग्रह गरेको छ ।

यसैवीच निर्वाचन आयोगले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभाको रिक्त एक पदका लागि आगामी माघ २५ गते बुधबार हुने उपनिर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यक्रमअनुसार अगामी माघ ८ गते मतदाता नामावली प्रकाशन गर्ने, दाबी विरोधलगायत प्रक्रिया पूरा गरी माघ १० गते अन्तिम नामावली प्रकाशन संगै माघ ११ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र माघ १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तय भएको जनाएको छ ।

त्यस्तै माघ १६ गते नै उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने तथा २५ गते बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको आयोगका जनाएको छ।