शनिबार, बैशाख ८, २०८१

माघ २ मा २५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने

काठमाडौ पुस २५,
‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ भन्ने नारा सहित माघ २ गते मनाइने २५ औँ भूकम्प सुरक्षा दिवसको मुख्य कार्यक्रम काठमाडौँ महानगरपालिकाले तोकेको स्थानमा हुने भएको छ ।

पुस १८ गते भूकम्प सुरक्षा दिवस मूल समारोह समितिका संयोजक, नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संयोजकत्वमा बसेको बैठकले काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा गठित व्यवस्थापन उपसमितिको आज बसेको बैठकले मूल समारोहमा प्रधानमन्त्रीलाई प्रमुख अतिथिका रुपमा अनुरोध गर्ने निर्णय संगै सहरी विकास तथा भवन निर्माण विभागको प्रचार प्रसार उपसमिति गठन र प्रदेश र पालिका स्तरमा दिवस मनाउन प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयबाट अनुरोध गर्ने, जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले अनुरोध गर्ने, विद्यालय स्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, कृतिम घटना अभ्यास गराउने, उद्योगहरुमा जोखिम न्यूनीकरण तथा संरचना निर्माण सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन व्यवस्था मिलाउने निर्णय निर्णय गरेको छ।

यसैवीच महानगरको विपद व्यवस्थापन विभागले मूल समारोह समितिको निर्णय कार्यान्वयनार्थ आज आज वडाध्यक्ष र वडा सचिवहरुसँग छलफल गरेको छ । छलफलका क्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले, दिवसका कार्यक्रम सुरक्षित, व्यबस्थित र सर्वसाधारणको पहुँच पुग्ने गरी आयोजना गर्नुपर्ने बताउनुभयो । कार्यक्रम सबैले हेर्न र सुन्न सक्ने गरी प्रस्ताव ल्याउनु, विभागका अधिकारीहरुलाई आग्रह गर्नुभयो । त्यस क्रममा प्रवक्ता नविन मानन्धरले, सम्भावित विपद क्षति न्युनीकरणका लागि प्रत्येक वडाका वडास्तरीय विपद् व्यवस्थापन समितिको पूर्णतासंगै समुदायको क्षमता बढाउनु, सर्वसाधारणको पहुँचमा सन्देशमूलक कार्यक्रम लैजान दिवस मनाउनुको मूख्य उद्देश्य रहेको बताउनुभयो ।

छलफलमा विभागका प्रमुख रविनमान श्रेष्ठले, प्रस्तावित कार्यक्रम सम्बन्धी प्रस्तुतिकरण सहित प्रत्येक वडाका वडास्तरीय विपद् व्यवस्थापन समितिलाइ क्षमता अभिवृद्धि गर्ने कार्यक्रमका लागि २ लाख रुपैयाँ र आपतकालीन सामग्री खरिद कार्यका लागि १ लाख रुपैयाँ गरि ३ लाख रुपैयाँ निकासा दिने तयारी भएको जानकारी दिनुभयो।