बिहिबार, बैशाख १३, २०८१

पार्टीको नाम फेर्ने सैद्धान्तिक सहमति सहित माओवादी र नेसपाबीच पार्टी एकताको तयारी

नेकपा एस र जसपासँग समेत पार्टी एकताको प्रस्ताव

काठमाडौ पुस २४,
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टी का अध्यक्ष डा बाबुराम भट्टराईबीच पार्टी एकताको तयारी भएको छ । प्रचण्ड र डा। भट्टराई ७ वर्षपछि फेरि एउटै पार्टीमा गोलवद्ध हुने तयारी भएको हो।

बृहत् वाम एकताको लागि पार्टी एकाकारकै विषयगत छलफलका लागि शनिवार प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष भट्टराईबीच प्रमको सरकारी निवास बालुवाटारमा भएको विशेष भेटवार्ताको क्रममा दुवै पार्टीवीच एकता गर्ने सैद्धान्तिक सहमति सहित पार्टीको नाम समेत फेर्न प्रम प्रचण्ड सहमत भएको बुझिएको छ।

भेटलगत्तै बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत रहेको पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।

प्राप्त जानकारी अनुसार कार्यदललाइ फास्ट ट्याक विधिबाट दुई पार्टीवीचको एकताका कार्यादेश सहित भट्टराईलाइ प्रचण्डपछिको दोस्रो वरीयतामा रहेनेगरि प्रकृया अघि बढाउन भनिएको छ।

नेसपाले भने राजनीतिक समितिको बैठक पछि पार्टी एकतासम्बन्धी वार्ताका लागि टोली बनाउने र दुवै पार्टीको वार्ता टोलीले पार्टी एकताका सबै विषयमा छलफल गरेर प्याकेजमा सहमति गर्ने तयारी गरेको सम्वद्ध स्रोतले जनाएको छ।

यसैवीच प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवसँग समेत पार्टी एकताको प्रस्ताव गरेको थाहा भएको छ।