शुक्रबार, चैत्र १६, २०८०

महानगर कार्यपालिकाको ११ औँ बैठक : नगर सभाको १२ औँ अधिवेशन पुस २९ मा

 सहरी योजना आयोगको उपाध्यक्षमा खड्का नियुक्त, विधायन समितिबाट  पेश भएका कार्यविधि तथा निर्देशिका स्वीकृत

काठमाडौँ पुस १८, 
काठमाडौँ महानगरका प्रमुख प्रमुख बालेन्द्र साहको अध्यक्षतामा आज बसेको कार्यपालिकाको ११ औँ बैठकले नगर सभाको १२ औँ अधिवेशन आगामी पुस २९ गते बस्ने निर्णय गरेको छ।  त्यस्तै बैठकले सहरी योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन २०७५ अनुसार सहरी योजनाविद् इञ्जिनियर तपेन्द्रबहादुर खड्कालाई सहरी योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय संगै विधायन समितिबाट बैठकमा पेश भएका ६ वटा कार्यविधि तथा निर्देशिका मस्यौदा बैठकले स्वीकृत गरेको छ ।

स्वीकृत भएका कार्यविधि तथा निर्देशिकाहरु क्रमस ‘काठमाडौँ महानगरपालिका छात्रवृत्ति कार्यविधि, २०७९’, ‘पुनर्ताजगी विदा सम्बन्धी कार्यविधि, २०७९’, ‘काठमाडौँ महानगरपालिका आय ठेक्का कार्यविधि, २०७९’, ‘काठमाडौँ महानगरपालिका वहाल व्यवस्था निर्देशिका, २०७९’, ‘काठमाडौँ महानगरपालिका मेलमिलाप केन्द्र सञ्चालन निर्देशिका, २०७९’, ‘काठमाडौँ महानगरपालिका कल सेन्टर (सम्पर्क केन्द्र) सञ्चालन निर्देशिका, २०७९’ रहेको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारीदिनुभएको छ ।

त्यस्तै उहाँले बैठकले ३ वटा सामुदायिक विद्यालय क्रमस टंगाल माध्यमिक विद्यालय, शिवपुरी माध्यमिक विद्यालय र शान्ति शिक्षा मन्दिर माध्यमिक विद्यालयमा क्रमस राजेन्द्र अधिकारी, प्रकाश सुवेदी र, सुदामप्रसाद गौत्तमलाइ प्रधानाध्यापक नियुक्त गरेको जानकारीदिनभएको छ।
साथै बैठकले दरबार हाइ स्कूलभित्रका भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय तथा क्षेत्रपाटीस्थित कन्या माध्यमिक विद्यालयलाई नमूना विद्यालयको भौतिक पूर्वाधार तयार पार्न ३० लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णयसंगै बजार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ बमोजिम निरीक्षण अधिकृतहरुमा निर्देशक बलराम त्रिपाठी, वरिष्ठ पशु चिकित्सक डा. अवधेश झा, वरिष्ठ कविराज निरीक्षक ज्ञानबहादुर ओली, उपनिर्देशक रामप्रसाद पौडेल, उपनिर्देशक सरिता राई, उपनिर्देशक सजिना महर्जन, पशु चिकित्सक डा. पूजा खनाललाई निरीक्षण अधिकृत तोकेको छ भने चमती जग्गा एकीकरण आयोजनाको म्याद सकिएको र आयोजनाको थोरै मात्र काम गर्न बाँकी रहेकोले मनोहरा जग्गा एकीकरण आयोजनालाई चमतीको बाँकी काम सम्पन्न गर्नेगरि जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।