शुक्रबार, चैत्र १६, २०८०

प्रम प्रचण्डसंग आयोगका पदाधिकारीको विशेष भेटवार्ता

राष्ट्रियसभा सदस्य ,राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन केन्द्रीत छलफल 

काठमाडौं पुस १८,

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया नेतृत्वको आयोगका प्रतिनिधि मण्डलले आज प्रधानमन्त्री प्रचण्डवीच विशेष भेटवार्ता भएको छ। भेटवार्ताको क्रममा आयोग प्रतिनिधि मण्डलले राष्ट्रियसभाको रिक्त सदस्यको निर्वाचन, राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचन र एकीकृत निर्वाचन कानुनका विषय लगायत समसामयिक विषयमा छलफल गर्नुभएको हो ।

प्राप्त जानकारी अनुसार आयोगले प्रम प्रचण्डसमक्ष लुम्बिनी प्रदेशबाट निर्वाचित सदस्य खिमलाल भट्टराईको २०७९ असोज २३ मा राजीनामा स्वीकृत भई रिक्त पदको माघ २५ गते बुधबार उपनिर्वाचनको मिति रेखाको प्रस्ताव संगैनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई प्रस्ताव गरेको हो ।

त्यस्तै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एकीकृत निर्वाचन कानुनको मस्यौदा सरकारमार्फत सङ्घीय संसद्को पहिलो अधिवेशनमा पेस गर्ने तयारीमा आयोग जुटेको जानकारी दिनुभएको आयोगले जनाएको छ।

त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले स्थानीय तह प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गराएकोमा आयोगलाई धन्यवाद दिदै आयोगको तर्फबाट प्रस्तुत प्रस्तावका विषयमा आवश्यक सहयोग, समन्वय र सहजीकरणका लागि नेपाल सरकार तयार रहेको जनाउ दिनुभयो ।

त्यसअवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र सरकारका मुख्यसचिव शङ्करदास वैरागी लगायतका उच्च सरकारी अधिकारीको उपस्थिति रहेको थियो भने आयोगको तर्फबाट आयुक्त ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा जानकीकुमार तुलाधर र आयोगका सचिव गोकर्णमणि दुवाडीको उपस्थिति रहेको थियो ।