शुक्रबार, बैशाख १४, २०८१

निर्मला हत्या प्रकरणको नयाँ प्रक्रियाबाट अनुसन्धान गर्न डीआईजीको नेतृत्वमा समिति गठन

काठमाडौं पुस १६,
विसं २०७५ साउनमा कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक पूजा सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।

गृहमन्त्री रवि लामिछानेको निर्देशनबमोजिम निर्मला पन्त हत्या प्रकरणको छानबिनका लागि डीआईजी सिंहको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

त्यस्तै डीआईजी सिंह नेतृत्वमा गठित समितिमा सीआईबीकै प्रहरी उपरीक्षक कमल थापा, प्रहरी निरीक्षक धीरेन्द्र रोकायासहित चिकित्सक सहभागी छन् । समितिलाइ प्रस्तुत उक्त घटनाको सुक्ष्म एवम् नयाँ प्रक्रियाबाट अनुसन्धान गर्न कार्यादेश दिइएको छ ।

स्मरण रहोस, गृहमन्त्री लामिछानेले मन्त्रीको पदभार ग्रहण गरेकै दिन पनि निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने जानकारी गराउँदै गृह सचिव विनोदप्रकाश सिंहलाई घटनाको विषयमा अपडेट गराउन निर्देशन दिएका थिए ।

यद्यपी यसअघि बनेका विभिन्न समिति मार्फत प्रस्तुत हत्याकाण्ड नसुल्झिएको रहस्यका रुपमा रहेको निर्मला पन्त हत्याकाण्डको दोषी पत्ता लाग्न नसकेको अवस्थाका वीच प्रस्तुत छानबिन समितिले कस्तो प्रतिवेदन ल्याउँने हो त्यो भने प्रतिक्षाकै विषय भएको छ।