मङ्लबार, बैशाख ११, २०८१

‘वन एक्स बेट’ मार्फत सट्टाबाजी गराउने चौगुठी र भेले पक्राउ

काठमाडौं पुस ४,
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वन एक्स बेट’ लगायतका बेटिङ एप्लिकेसनमार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका १६ घर भई चाँगुनारायण नगरपालिका९९ ताथली बस्ने ३१ वर्षीय सुनिल चौगुठी र भक्तपुर नगरपालिका १२ घर भई सूर्यबिनायक नगरपालिका ८ आदर्शटोल बस्ने २५ वर्षीय अजय भेले रहेको प्रहरीले जनाएको छ ।

फिफा बिश्वकप २०२२ लगायत विभिन्न खेल तथा गतिविधिहरुमा सट्टाबाजी गर्ने प्रयोग हुने बेटिङ एपमार्फत सट्टेबाजी लगाउन रकम संकलन गर्ने गराउने कार्यमा एजेन्टहरु सक्रिय रहेको भन्ने सूचनाको आधारमा उनिहरुलाइ पक्राउ गरिएको हो ।

त्यस्तै उनीहरूले बिभिन्न प्रलोभन देखाई एजेन्ट बन्नका लागि प्रोत्साहित गर्ने गरेको, एजेन्टको रुपमा १ वर्षदेखि कार्य गर्न थालेको, ‘रिडि’ नामक एप्लिकेसन बनाई कारोबार गर्ने गरेको र बढी रकम संकलन तथा भुक्तानी गर्ने एजेन्टहरु प्रोत्साहित हुने गरेको तथ्य खुलेको प्रहरीको जनाउ रहेको छ ।

साथै सुनिलको २३ वटा बैंकमा रहेका २५ वटा खाताहरुमध्ये ७ वटा बैंक खाताहरुबाट करिब १ वर्षको अवधिमा २ करोड ४५ लाख ७१ हजार ८ सय ९९ रूपैयाँ र अजयको विभिन्न १९ वटा बैंक खाताहरूमध्ये ५ वटा बैंक खाताहरुबाट करिब ६ महिनाको अवधिमा ६० लाख २९ हजार ९ सय १५ रुपैयाँ बराबरको कारोबार भएको अनुसन्धानबाट खुल्न आएको जनाउँदै सट्टाबाजी गर्न गराउन नहुने कसूर अन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको जनाएको छ ।