शुक्रबार, चैत्र १६, २०८०

सङ्घीय संसद् सदस्यको शपथको गृह कार्यमा संसद् सचिवालय

काठमाडौं पुस ४,

सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यको तयारी गरेको छ । यसको लागि सचिवालयले नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइने जानकारी सहित ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन आयोगलाई पत्रचार गरिसकेको छ ।

यसवीचमा कुनै सदस्यले मातृभाषामा शपथ लिन चाहेमा शपथको तीनदिनअघि शपथ पत्रमा उल्लेख हुने विवरण तत् तत् भाषामा उल्था गरी त्यससम्बन्धी जानकारी संसद् सचिवालयलाई दिन समेत आग्रह गरेको छ ।

सचिवालयले शपथसँगै नवनिर्वाचित सदस्यलाई करिब रु पाँच हजार आठ सयको लागतमा तयार भएको सङ्घीय संसद्को प्रतीक चिह्न [लोगो] र नेपाली उत्पादन अल्लोको झोलासहित नेपालको संविधान, डायरी, कलम, संसद्सम्बन्धी नियमावली, निर्देशिका, अन्य प्रकाशन उपलब्ध गराइने सचिवालयले जनाएको छ । यसैवीच राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गतेभित्र प्रधानमन्त्रीका लागि दाबी पेश गर्न सात दिनको समय दिएर आह्वान गरिसकेकी छन्।