मङ्लबार, बैशाख ४, २०८१

प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रपति समक्ष प्रस्तुत

काठमाडौं मंसिर २९,
निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणाम सहितको प्रतिवेदन प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ ।

त्यसअवसरमा निर्वाचन प्रतिवेदन पेश गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको सारसंक्षेप प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा  राष्ट्रपति भण्डारीले नेपालको संविधान जारी भएपछि सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको दोस्रो निर्वाचन, २०७९ ले मुलुकमा शान्ति, स्थिरता, विकास, सुशासन र समृद्धिको मार्गप्रशस्त गर्ने आधार तयार गर्नेछ भन्ने कुरामा आफू विश्वस्त रहेको जनाउ सहित लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गरेकामा उहाँले आयोगलाई धन्यवाद दिनुभयो ।

यसैवीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका पदाधिकारीको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष समेत प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ को निर्वाचन परिणामसहितको प्रतिवेदन बुझाउनुभएको छ । आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिनुभएको थियो ।