शुक्रबार, चैत्र १६, २०८०

के हो यो:मरी पूर्णिमा ? [लोक कथा सहित]

काठमाडौं मंसिर २२
मार्गशुक्ल पूर्णिमाका दिन मनाइने धान्यपूर्णिमालाइ नेवार समुदायले भने यो मरी पुन्हि र ज्यापु समूदायले ज्यापु दिवसको रूपमा मनाउँदै आएका छन्। मुलत नेपाल सम्वत् अनुसार थिंलाथ्व पुन्ही अर्थात् मार्ग महिनाको शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वलाई नेवारी भाषामा यो मरी पुन्हि भनिन्छ । यो दिन विशेष प्रकारको परिकार योमरी बनाएर खाने गर्दछन । चामलको पिठोबाट बनाइएको योमरीमा तिल, चाकु र खुवा राख्ने गरिन्छ । योमरी पूर्णिमाकै दिन उपत्यकाका नेवार भित्रकै ज्यापु समुदायले ज्यापु दिवसका रूपमा पनि यो पर्वलाई मनाउने गर्दछन् ।

त्यस्तै धान्य पूर्णिमाको साँझ टोलटोलमा देउसी, भैलो खेले झैं केटाकेटी, युवायुवती जम्मा भई योमरी माग्ने चलन छ । यो मरी माग्ने प्रचलन यो दिनको एक महत्त्वपूर्ण सांस्कृतिक पक्ष मानिदै आएको छ ।  यःमरी माग्दा यसरी गीत गाउने गरिन्छ  जुन निम्नानुसार  रहेको  छ ।

त्य छिं त्य, बक छिं त्य
थाबले यागु सामा वलः, यःमरी छगः ती यः
व्यूसा ल्यासे म्ह, मव्यूसा सितिकुती
न्यग व्यूसा काय् वुई, छग व्यूसा म्याय् वुई
तालापाता कुलिचां जुसें त्यः
यःमरी माकु, उकि दुने चाकु
व्यूसा ल्यासेचा, मव्यूसा बुरीचा

   त्यस्तै यस दिन नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा य:मरी लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी बनाई पूजा गरी चढाउने गरिन्छ ।

य: मरीको सवालमा यस्तो छ लोककथा :  
नेवारी समुदायमा यो:मरी पुन्हिसँग सम्बन्धित एउटा ऐतिहासिक लोककथा प्रचलित छ । पाञ्चाल देशमा सुचन्द्र नाम गरेका महाजन सपरिवार व्यापारकर्म गरी बस्दथे । धनधान्य र सम्मृद्धिका देवता कुबेरलाई ती दम्पतिको परोपकार र दानधर्ममा कत्तिको विश्वास रहेछ भन्ने कुरा बुझ्न मन लागेछ र उनी दुःखी र दरिद्रको भेषमा सुचन्द्रको घरमा परीक्षा लिन गएछन् ।

 घरमा एउटा दिनहीन अवस्थाको दरिद्र मानिसले भिक्षा मागेको देखेर सुचन्द्रकी पत्नीमा दयाभाव पलाएछ र उनले त्यस भिखारीको स्वागत सत्कार गरी मीठामीठा खानेकुरा दिइछन् र उचित आदर सत्कार र श्रद्धा गरिछन् । सुचन्द्रकी पत्नीले गरेको व्यवहारबाट प्रसन्न भएर कुबेरले उनलाई आफ्नो सक्कली रूपको दर्शन दिए र ज्ञान प्रदान गरी अन्तर्ध्यान भए ।

कुवेरले प्रदान गरेको सद्बुद्धि र अर्ती अनुसार सुचन्द्रकी पत्नीले तिलको धुलो र चाकुको झोल मिश्रित पदार्थ राखी चामलको पिठोको य:मरी बनाएर त्यही रोटीको कुवेर बनाई अन्न राख्ने भकारीभित्र राखिछन् । अनि कुवेरले प्रदान गरेको बिमिरोलाई पनि त्यहीं विधिपूर्वक स्थापना गरी चार दिनसम्म छोपेर राखी पूजा गरिन् ।

अनि अन्न, धन र य:मरी दान गरिन् । यसरी कुबेरको आराधना र पूजा गरेकाले त्यसको प्रभावले सुचन्द्रको घरमा धन सम्पत्तिको बृद्धि हुनगई दैनिक आम्दानीमा बढोत्तरी हुनगयो । त्यसै बेलादेखि धान्यपूर्णिमाका दिन योमरी बनाएर कुबेर र लक्ष्मीको पूजा गरी पर्व मनाउने चलन चलेको विश्वास छ ।